धनगढी: कैलालीको धनगढीमा एयरफोन चोरी गरेको निहुँमा कुटपिट गरि एक जनाको हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका–१४ फूलबारीका ३५ वर्षीय गणेश गिरीको हत्या अभियोगमा दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मृतकका भान्जा १८ वर्षीय प्रदीप बोहरा र मृतककै सहदोर भाई ३३ वर्षीय पदम गिरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले बताए ।
सिंहकाअनुसार २८ असारको राति पक्राउ परेका मध्ये मृतकका भान्जा बोहराले मृतककै घरमा आफ्नो एयरफोन चोरी गरेको भन्दै कुटपिट गरेको खुलेको छ ।
कुटपिटबाट घाइते भएका गणेश गिरीको ३० असारमा मृत्यु भएको थियो । मृतकका परिवारले परम्पराअनुसार उनको शव खाल्डोमा गाडेर अन्त्येष्टि गरेका थिए ।
बिहीबार गिरीको भान्जाबाटै हत्या भएको खबर पुगेपछि कैलाली प्रहरीले गिरीको शव गाडिएको स्थानबाट उत्खनन् गरेको थियो ।
शव उत्खनन् गरेर कुटपिट गर्ने बोहरा र घटनामा मतियारको भूमिका खेलेका भन्दै मृतककै सहोदर भाईलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
मृतकको शव परीक्षणपछि परिवारको जिम्मा लगाइएको छ। पक्राउ परेकाहरुमाथि अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस